कर्णालीका मन्त्री खत्रीमाथि बैंकिङ कसुरको आरोप।

0

साउन,२९ सुर्खेत- कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालतले आदेश दिएको छ।

ठेकेदारसमेत रहनुभएका मन्त्री खत्रीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको आरोप लागेको छ।

उच्च अदालत पाटनले उहाँलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ ।

खत्री लगायत पाँच जनामाथि बैंकिङ कसुरको आरोपमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

अरुलाई पक्राउ गरिए पनि मन्त्रीको हकमा केही नगरेको भन्दै उच्च अदालतले उहाँलाई तत्काल झिकाउन आदेश गरेको हो ।

अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनिएको छ।

अन्य अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको छ।

उपस्थित भएका तीनैजनालाई बैंकिङ कसुर अन्तरगत अदालतले ६ लाख बराबरको धरौटी मागेको छ।

न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले आदेशको प्रति महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकलाई समेत दिन आदेश गरेको छ ।

 

 

Share.

About Author

Leave A Reply