कर्णालीमा कोरोना उपचारका लागि तिनवटा अस्पताल तोकियो।

0

सुर्खेत चैत १४, कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ ।

मन्त्रिपरिषद बैठकले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोक्ने निर्णय गरेको हो।

प्रदेश सरकारले प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १/१ करोड रुपैयाँ र चौरजहारी अस्पताललाई ५० लाख रुपैयाँ पनि दिएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि नेपाल सरकारसँग माग गर्ने र तत्काल उपलब्ध नभए आफैं खरिद गर्ने निर्णय पनि गरेको मन्त्री केसीले बताउनुभयो।

मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको विपद व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि कर्णाली प्रदेशका मुख्यमन्त्री र सबै मन्त्रीले एक एक महिनाको तलब दिने भएका छन।

प्रदेश सरकारले बनाएको प्रदेश विपद् व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबैले एक महिनाको तलब राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ।

यस्तै पछिल्लो समय विदेशबाट आएका नागरिकलाई कोरोनाको आशंकामा जाँच गरिने भएको छ।

गाउँ गाउँमा पुगेर विदेशबाट आएका व्यक्तिको खोजी गर्ने र त्यसको लागि पालिकासँग समन्वय गर्ने प्रदेश सरकारले जनाएको छ ।

मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट

कर्णाली प्रदेश सरकारले  कोरोना भाइरस रोकथाम तथा प्रतिकार्यको कामलाई प्रभावकारि बनाउने भन्दै  मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेको छ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्नुको साथै आगामी दिनमा प्रतिकार्यको कामलाई अझ तीव्र र प्रभावकारी बनाउने निर्णय हो।

बैठकले आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनकालागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ।

यस्तै  प्रदेश राजधानी, जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्ने जिम्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाइ दिइएको छ।

प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुमा शंकास्पद विरामीहरुलाई आईसोलेसनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयकोलागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी तोकिएको छ।

दशवटै जिल्लामा आपुर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय बनाउने पनि बैठकले निर्णय गरेको छ।

प्रतिकार्य तथा पुर्वतयारीमा खट्ने समिति तथा युनिटहरुको नियमित बैठक, प्रतिवेदन कार्यकालागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा हेल्प डेस्क संचालनमा ल्याउने  निर्णय पनि भएको छ।

प्रतिवेदन, समन्वय तथा संचारको कामलाई विधुतीय तथा सामाजिक संजालको माध्यमबाट गर्ने निर्णय पनि बैठकले गरेको सुचना अधिकारी केशव उपाध्यायले बताउनु भयो।

बैठकमा मुख्यमन्त्री शाहीले कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको बताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिनुभयो।

 

 

Share.

About Author

Leave A Reply