चर्को बैंक ब्याजविरुद्ध सुर्खेतका व्यापारी आन्दोलित।

0

माघ-२५ सुर्खेत।सुर्खेतका व्यापारीहरुले बैंकहरुले मनपरी ढंगले ब्याज बढाएको भन्दै एक दिने बैंक बहिष्कार गरेका छन।सिण्डकेट जसरी एकपक्षीय रुपमा बैंकहरुले निर्धारण गरेको चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशायी भएको भन्दै एक दिने बैंक वहिष्कार गरेको हो।बैंकहरुले उत्पादनमूलक उद्योगका लागि प्रवाह गर्ने ऋणमा ७ प्रतिशत र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतमा नबढाई ब्याजदर कायम नगरे निजी क्षेत्र नै धराशायी हुने ठहर संघले गरेको छ।ब्याजदर बढाएको विरोधमा आज वीरेन्द्रनगरमा भएको शान्तिपूर्ण विरोध र्यालीपछिको कोणसभामा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन ।संघका अध्यक्ष धनबहादुर रावतले वार्षिक ३ अर्ब रुपैयाँसम्म मुनाफा कमाएको दाबी गर्ने बैंकहरुले व्यवसायीहरुको बाध्यताको नाजायज फाइदा उठाउन खोजेको टिप्पणी गर्नुभयो।बैंकहरुले आपसी सिण्डीकेट चलाएर व्यापारी व्यवसायीलाई टाट पल्टाउने गरी आफुखुशी ब्याजदर निर्धारण गर्ने गर्दापनि  राज्य मूकदर्शक बनेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो।यस्तै संघका उद्योग उपाध्यक्ष गणेशकुमार वस्नेतले निजी क्षेत्रले सहजतापूर्वक लगानी र व्यापार गर्नसक्ने अवस्था नभए कर्णाली प्रदेशजस्तो आर्थिक रुपले कमजोर प्रदेशमा आन्तरिक र वाह्य कुनैपनि किसिमका लगानी भित्रिन नसक्ने ठोकुवा गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो।यस्तै संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले व्यवसायिक ऋणको ब्याजदर घटाएर ७ प्रतिशतमा नझारे आफ्ना पसल व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाएर पलायन हुने स्थिति आउने भन्दै चिन्ता व्यक्त गर्नुभयो।यसअघि ब्याजमा गरेर वृद्धि हुँदै आर्थिक समृद्धि, बैंक थरि थरि ब्याज मनपरिलगायतका नारासहितका प्लेकार्डसहित मंगलगढीबाट शान्तिपूर्ण विरोध र्यालीपनि निकालिएको थियो।मंगलगढीबाट मुख्यबजार, गणेशचौक, अस्पतालचौक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको र्यालीले प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवमार्फत अर्थमन्त्रीलाई विरोधपत्रसमेत बुझाएको छ।

 

Share.

About Author

Leave A Reply