टीकापुर हत्याकाण्ड : रेशम चौधरीसहित ११ जनालाई जन्मकैद।

0

कैलाली फागुन २२,जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश परशुराम भट्टराईको इजलाशले २०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०–२० वर्ष कैद गर्ने फैसला गरेको हो।

अदालतले रेशमलालसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश  चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह उपनामका सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम डगौरा चौधरीलाई जन्मकैद गर्ने फैसला गरेको हो।

श्रवण नाबालक भएकाले सजाय आधा गर्दै १० वर्ष जेल बस्नुपर्ने फैसलामा उल्लेख छ।

अदालतले घटनामा दोषी रहेको आरोपमा जेलमा रहेका २७ जनामध्ये ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्षको कैद र तीनजनालाई पूर्ण सफाइ दिने फैसला गरेको हो।

तनावर अलि जागा, रामनरेश चौधरी र विश्राम चौधरीलाई भने घटनामा दोषी नदेखिएको भन्दै अदालतले पूर्ण सफाइ दिने फैसला गरेको छ।

पूर्ण सफाइ पाएका तीनजनासहित ३ वर्षको कारागारको सजाय पाएका १२ जना गरी १५ जनालाई आजै थुनामुक्त गर्ने तयारी छ।

घटनापछि फरार रहेका रेशम चौधरीले गएको वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा मा आत्मसमर्पण गरेका थिए।

उनलाई त्यहाँबाट जेल सारेर काठमाण्डौ ल्याइएको छ भने जेलमै भएका बेला संघीय संसदले केही दिन अघि चौधरीलाई सांसदको सपथ गराएको थियो।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजना प्रहरी र एकजना नाबालकको ज्यान गएको थियो।

घटनामा संलग्न रहेको आरोप लागेका ३१ जना अझै फरार छन।

Share.

About Author

Leave A Reply