नीति तथा कार्यक्रम संशोधन प्रस्ताव दर्ता।

0

वैशाख -२२ सुर्खेत।सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता भएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता गराएका हुन्।संघीय संसद्‍मा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रयोग भएको ‘मेरो सरकार’ शब्द संशोधन हुनुपर्ने लगायत ४ बुँदामा कांग्रेसका तर्फबाट २३ जना सांसदले संशोधन दर्ता गराएका हुन्।नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने काम भएको तथा आवश्यक नीतिगत प्रस्‍टतासहित विकास र समृद्धिको आकांक्षा पूरा गर्नसक्ने कार्यक्रम नआएकाले नीति तथा कार्यक्रममा संशोधन हुनुपर्ने उल्लेख छ। कांग्रेसले गरेको संशोधन प्रस्तावमा ‘मेरो सरकार’ भन्ने शब्दावली सच्याएर ‘नेपाल सरकार’ बनाउनुपर्ने उल्लेख गरिएको छ।यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपालले पनि संशोधन प्रस्ताव दर्ता गराएको छ।नीति तथा कार्यक्रमको पाँचवटा बुँदाप्रति असहमति जनाउँदै राजपाले आज  संघीय संसदको सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो।नीति तथा कार्यक्रमको सातौं बुँदामा रहेको अन्तिम वाक्यलाई हटाई राजपाले ‘संविधानको सर्वस्वीकार्यता र स्वामित्वलाई पूर्णता दिन संविधान संशोधन गरिने छ’ भन्ने वाक्य राख्नुपर्ने बताएको छ।सरकारले पेश गरेको नीति तथा कार्यक्रममा ‘संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा अब विमति छैन’ भन्ने उल्लेख छ।प्रतिनिधिसभामा दर्ता गराइएको संशोधन प्रस्ताव राष्ट्रसभामा पनि दर्ता गराइने राजपा उपाध्यक्ष एवं राष्ट्रसभा सदस्य वृषेशचन्द्र लालले बताउनु भयो ।

 

 

 

Share.

About Author

Leave A Reply