नेकपा एमाले माओवादी र नयाँ शक्ति बिच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने गरी सहमतिः

0

असोज १८ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी चुनावमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्नेसहित ६ बुँदे सहमति भएको छ।
सहमतिकर्ता दलका नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् ।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गर्नुभएको छ।
तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ ।
यसकालागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिएको छ ।
समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् ।
पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहने सहमति भएको छ।
पार्टी एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषयहरु टुंग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिका आधारमा निर्णय गर्नेछ ।
पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ ।
तीन दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति पनि गरेका छन् ।
उनीहरूले चुनावमा सहकार्य गर्न लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई आहृवान गरेका छन् ।
नेताहरुले संघीय फोरमसँग चुनावी तालमेलबारे सकारात्मक छलफल चलिरहेको दाबी गरेका छन ।
तीन दलबीच भएको छ बुँदे सहमतिको चौथो बुँदामा आगामी चुनावमा प्रत्यक्षतर्फ नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुने गरी तालमेल गर्ने उल्लेख छ।
पार्टी एकीकरण गर्नुभन्दा अघि आआफ्ना बैचारिक धारणा राख्न छुट भएपनि एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना गर्न नपाइने पनि सहमतिमा उल्लेख छ।
तीन दलबीच संसदको चुनावमा साझा घोषणा पत्र बनाउने सहमति भएको छ ।
सहमतिमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत उम्मेदवार उठाउने, चुनावपछि दुवै पार्टी विगठन गर्ने र नयाँ पार्टी घोषणा गर्ने लगायत बुँदा छन् ।

Share.

About Author

Leave A Reply