समयमै रासायनिक मल नल्याउने दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द।

0

भदाै २२, तोकिएको समयमा रासायनिक मल नल्याउने ठेकेदार कम्पनीलाई सरकारले कारबाही गरेको छ।

मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापर्वाहीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको र उनीहरुसँग भएको ठेक्का रद्द गरिएको कृषि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्द भएको हो।

उनीहरुको धरौटीसमेत जफत गर्ने निर्णय गरेको कृषिमन्त्री घनश्याम भुसालले बताउनुभयो। कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुनेछ।

फरक–फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र  माघ ४ मा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए।

दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो।

यसवर्ष धान रोपेपछि हाल्नुपर्ने मलको अभाव हुन गएकोमा दुखी भएको मन्त्री भुसालले बताउनुभयो।

कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरेको र त्यसले काम थालेको पनि विज्ञप्तिमा उल्लेख छ।

अहिले ३२ हजार पाँच सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको छ ।

चाहिने समयभन्दा ढिलो गरी आएको हुँदा कतिपय जिल्लामा मल वितरणमा समस्या देखिएको छ।

 

 

Share.

About Author

Leave A Reply