सुदूरपश्चिम ११ का दुवै टोली फारवेष्ट पशुपति कप फुटबलको क्वाटरफाइनलमा

0

सुदूरपश्चिम ११ स्पोर्टस क्लबका दुवै टोली धनगढीमा जारी तेस्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन्।
हिजो भएका दुवै खेलमा जित हात पार्दै सुदूरपश्चिम ११ को ‘ए’ र ‘बी’ टीम अन्तिम आठमा पुगेका हुन्।
धनगढी रंगशालामा भएको पहिलो खेलमा सुदूरपश्चिम ११ ‘ए’ ले नेपाल प्रहरी प्रदेश नम्बर ७ लाई ४–० को फराकिलो अन्तरले किनारा लगाएको हो।
जितमा विनोद केसीले दुई गोल गरे भने जीवन चौधरी र रामसिंह रानाले एक–एक गोल गर्नुभयो।
त्यस्तै दोस्रो खेलमा सुदूरपश्चिम ११ ‘बी’ ले पशुपतिलाई ५–० को फराकिलो अन्तरले किनारा लगायो।
खेलको सुरुवातदेखि नै दबाबमा राख्दै राजीव चौधरीको ह्याट्रिकमा सुदूरपश्चिम ११ ‘बी’ ले सानदार जित दर्ता गरेको हो।
खेलको पहिलो हाफको चौथो मिनेटमा हिक्मत खत्रीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए ।
प्रतियोगिता अन्तर्गत आज पनि दुई वटा खेल हुनेछन्। मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ।
फारवेष्ट पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगिताका विजेताले ३ लाख उप विजेताले डेढ लाख र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले ५० हजार गरी ५ लाख बढी नगद पुरस्कार पाउनेछन्।
२०६८ सालमा भएको छैटौ राष्ट्रीय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता सुदूरपश्चिमका फुटवल खेलाडीले प्रतियोगिता आयोजना गरेका हुन् ।

Share.

About Author

Leave A Reply